Tue Sep 27 2022
मुख्य खबर

पोखरामा गिद्ध गणना गरिने

पोखरामा शनिबार गिद्ध गणना गरिने भएको छ । पोखरा पक्षी समाजको सक्रियतामा प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार गिद्ध गणना गर्ने गरिएअनुसार पोखरामा गिद्ध गणना गर्न लागिएको हो ।

प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका रुपमा लिने गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मन शान्त घिमिरेले जानकारी दिए । गिद्ध मरेको सिनो खाएर बाँच्ने पक्षी हुन् । यिनीहरूले हानिकारक कीटाणु सडेको मासु पचाउन सक्ने भएकाले यिनीहरूलाई प्रकृतिका कुचिकार भन्ने गरिएको छ ।

नेपालमा गरिएको विभिन्न अध्ययनले पछिल्लो दुई दशकमा गिद्धको सङ्ख्या झण्डै ९० प्रतिशतले घटेको छ । गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक जस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध संकटापन अवस्थामा पुगेको बताउँदै घिमिरेले पछिल्लो समयमा गाईबस्तु पाल्नेक्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा उनीहरूको आहारामा समेत समस्या थपिएको जानकारी दिए ।

डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको छ । घिमिरेका अनुसार औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ ।

विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै पोखरा र आसपासका क्षेत्रमा पाइने घिमिरेले जानकारी दिए । त्यसैले पनि पोखरा र आसपासको क्षेत्र गिद्धको मुख्य बासस्थानका रुपमा रहेको छ ।

उनका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गुर, सुन, सानो खैरो, हिमाली, हाडखोर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । हिउँदको समयमा आउने लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान एवं किर्गिजिस्तानबाट आउने गरेका छन् । नेपालमा पाइने हिमाली गिद्ध १० हजारको सङ्ख्यामा छन् भने डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ ।

त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध पाँचरपाँच सयको सङ्ख्यामा रहेको जनाइन्छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारीमा रहेको छ । पछिल्ला वर्षमा बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका अनुसन्धानकर्ता बताउँछन् । गिद्धको बासस्थान विशेष गरी अग्लो सिमलको रूख हो । गिद्ध सिमलका रूखमा बस्ने तथा गुण लगाउने गर्दछन् ।

पछिल्ला समयमा बस्ती तथा फाँटमा रहेका सिमलका रूख काटिँदा पनि उनीहरू समस्यामा पर्ने गरेको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले जानकारी दिए । विभिन्न विकास निर्माण, ट्रान्समिसन लाइन आदिका कारण पनि गिद्ध समस्यामा पर्ने गरेको जनाउँदै उनले गत वर्ष तनहुँको व्यास नगरपालिका वडा नं ८ मा ल्यान्डफिल साइड नजिकैको ट्रान्समिसन लाइनमा ठोक्किएर करिब ७० वटा हिमाली गिद्ध मरेको पाइएको जानकारी दिए ।

त्यस्तै गत वर्ष नै घाचोकमा दुई वटा सुन गिद्ध, एकरएक वटा डङ्गोर गिद्ध र हिमाली गिद्ध मरेको उनले जानकारी दिए । पोखराको चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायतका स्थानमा डेढ दशकअघिसम्म ठूलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा घट्दै गएको अनुसन्धाता बताउँछन् । चाउथेलगायतका फाँटमा बस्ती विकाससँगै सिमलका ठूलाठूला रूख यतिखेर काटिइसकेको, बढ्दो बस्ती विकास, धुलोधुवाँलगायतका कारण पनि यिनीहरू सङ्कटमा परेको जनाइएको छ ।

गणना विभिन्न सात ठाउँबाट गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिए । पोखराका घाचोक, पोखराको ल्यान्डफिल साइट, दोभिल्ला, पुम्दीकोट, हेम्जा, सेती नदीको तल्लो भूभाग ९दुलेगौँडा सम्म० र दमौलीको ल्यान्डफिल साइटमा एकै समयमा बिहान ८ बजेदेखि ११ बजेसम्म गणना गर्न लागिएको उनले जानकारी दिए ।

सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्ध प्रकृतिको कुचिकार भएका कारण यसको संरक्षणमा जागरुकता आवश्यक रहेको उनको भनाइ छ । अघिल्लो वर्षको पोखरामा गरिएको गणनामा २२३ सेतो गिद्ध, ९१ डङ्गोर गिद्ध, २८ सुन गिद्ध, १३ सानो खैरे गिद्ध, नौ वटा हिमालयन गिद्ध र एक वटा राज गिद्ध पाइएको अध्यक्ष घिमिरेले जानकारी दिए । गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि पोखराको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।