Sat Oct 1 2022
मुख्य खबर

चरम राजनीतिमा त्रिभूवन विश्वविद्यालय

मेनुका लम्साल- त्रिभूवन विश्वविद्यालयमा भित्रिएको बेथितीले नेपालको पहिलो विश्वविद्यालयको अस्तित्व नै संकटमा परेको छ ।

विद्यार्थी संगठनहरुको चेपुवामा परेको त्रिवि अहिले इतिहासकै कठिन मोडमा पुगेको छ । अहिले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिवि बचाउ आन्दोलन घोषणा गर्दै उपकुलपतिको कार्यालय किर्तिपुरमा धर्ना दिएको हो ।

उता कांग्रेस निकट विद्यार्र्थी संगठन नेविसंघले त्रिविको कार्यलयमा ताला लगाएर अन्य हस्तक्षेप गरेको पनि धेरै भइसक्यो । देशको सबैभन्दा ठुलो र पुरानो विश्वविद्यालय त्रिविमाथि आन्दोलन,हड्ताल, तालाबन्दी जस्ता चौतर्फि आक्रमणले बेथिती उब्जाएको छ ।

सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा धर्ना दिएको छ । विहिबारबाट सुरु गरेको त्रिवि बचाउँ धर्ना शुक्रबार पनि जारि राखेको हो । उपकुलपतिको कार्यालय किर्तिपुरमा क्याम्पस समितिको अगुवाइमा त्रिवि बचाउँ एवं धर्ना कार्यक्रम गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।

अखिल क्रान्तिकारीले त्रिविमा राजनैतिक भागबण्डाका आधारमा हुने नियुक्ति खारेज गर्नुपर्ने, शैक्षिक क्यालेण्डर सार्वजनिक गर्नुपर्ने, परीक्षाफल समयमै प्रकाशन गर्नुपर्ने, प्रश्नपत्रमा देखिएको लापरबाही अन्त्य गर्नुपर्ने लगायतका माग राखेको छ

२०७८ माघ ७ गते नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थीसंघले विभिन्न माग राख्दै उपकुलपतिको कार्यालय ५ महिनासम्म तालाबन्दी ग¥यो ।

नेविसंघले २०७९ देखि यता ५ पटक तालाबन्दी गरिसकेको छ । भदौ ८ गते संघले उपकुलपती कार्यालय तोडफोडदेखि कुर्सीमा जुत्ताको माला समेत लगाउनसमेत पछि परेन । नेविसंघको यहि क्रियालाप विरुद्ध  अखिल क्रान्तिकारीले भने त्रिवि बचाउँ एवं धर्ना कार्यक्रम गरेको हो ।

एउटा पक्षले ताला लगाउने र अर्काे पक्षले खोल्ने गर्दा विश्वविद्यालय रणभूमि जस्तै बनेको छ । अराजक र राजनीतिक क्रियाकलापले त्रिविको अस्तित्वनै संकटमा परेको शिक्षाविद्हरुको ठम्याइ छ ।

विश्वविद्यालयलाई शैक्षिक, प्राज्ञिक र अनुसन्धानको थलो बनाउनु पर्ने भएपनि राजनीति खिचातानीको थलो बनाइएको राजनीतिक विश्लेषकको तर्क छ ।

परीक्षाफल प्रकाशनमा ढिलाई, प्रश्नपत्रमा देखिएको लापरबाहिलगायतका विषयले त्रिविको वेथीती स्पष्ट हुन्छ । अनावश्यक राजनीतिले त्रिविको शैक्षिक स्तर पनि धरापमा परेको कतिपय जानकारहरुको भनाइ छ ।