Sat Oct 1 2022
मुख्य खबर

सफा र सुन्दर काठमाडौं निर्माणमा बालेनको सक्रियता

अविशेक सुनार- काठमाडौं महानगरले अवैध संरचना तथा नक्सा विपरित निर्माण गरिएका संरचना हटाई नसक्दै डिजिटल होडिङ बोर्ड हटाउने अभियान थालेको छ ।

महानगरमा बनाईएका करिब ३ सय अवैध संरचना मध्य केही संरचनामा डोजर चले पछि व्यापारी आफैले अवैध संरचना खाली गर्न बाध्य भएका छन् । यस्तै नियम विपरित राखिएका होडिङ बोर्डले दुर्घटना निम्त्याएको भन्दै महानगरले होडिङ बोर्ड बन्द गराउने अर्को अभियान थालेको छ ।

काठमाडौं महानगरपालिकामा नक्सा पास विपरित निर्माण गरिएका ३ सय बढी संरचना मध्य केहीमा डोजर चलाएपछि धेरै स्थान पार्किङका लागि खाली भएका छन ।

पार्कीङका लागि भनि नक्सा पास गरेको ठाउँमा व्यापार व्यवसाय सञ्चालन गरेको पाईएपछि महानगरमा मेयर बालेन्द्र साहकै सक्रियतामा त्यस्ता संरचनामा डोजर चलाईएको थियो ।

अवैध संरचना हटाउने अभियान नसक्दै डिजिटल होडिङ बोर्डतर्फ महानगरको ध्यान मोडिएको छ । सडक छेउका भवनमा राखिएका होडिङ बोर्डको विज्ञापन र रंग परिवर्तनले चालकको ध्यान केन्द्रित गर्दा दुर्घटना निम्त्याएको भन्दै ८ सय स्क्वायर फिट भन्दा बढी क्षेत्रफलमा राखिएका डिजिटल होर्डिङ बोर्ड बन्द गराउने अभियान थालिएको महानगरले बताएको छ ।

१७ लाख सवारी साधन गुड्ने काठमाडौं महानगरको चोक चोकमा प्रचार प्रसारका निम्ति मापदण्ड विपरित राखिएका चकिला होडिङ बोर्डले ट्राफिक लाईट नै मधुरो बनाईदिने समस्या छ । महानगरले मापदण्ड विपरितका त्यस्ता होर्डिङ बोर्ड हटाउने अभियान थालेपछि सवारी चालकहरुले भने रातको समयमा सवारी हाक्न समेत सहज हुने प्रतिक्रिया दिन्दै त्यसको समर्थन गरेका छन् ।

काठमाडौं महानगरपालिकाले बानेश्वर, काठमाडौं मल, आरबी कम्प्लेक्स, अल्फाबिटा कम्प्लेक्स, सुरज आर्किड, बिआर कम्प्लेक्स, बसन्तपुर प्लाजा लगातका अनाधिकृत संरचना भत्क्याईसकेको छ भने पार्कीङ स्थल ओगटेका व्यवसा हटाएको छ । ३५ दिने सूचनालाई अवज्ञा गरेको भन्दै महानगरले डोजर चलाउँदा व्यवसायीले चुलो निभेको भन्दै महानगरको विरोधमा उक्रिएका छन् ।

काठमाडौं महानगरपालिकाले नियम विपरित बनाईएका संरचना हटाउएपनि त्यसको व्यवस्थापनका उपाय नअपनाउँदा व्यापारिहरु मर्कामा परेका छन् । सुन्दर, सफा र प्रदूषण रहित महानगर निर्माणमा महानगरले लिएको एक्सनको देशभरका स्थानीय निकायले समेत पालना गर्नु सकारात्मक हो । तर, स्थानिय सरकारको यस्तो अभियानले विस्थापित हुने पक्षको व्यवस्थापनमा समेत ध्यान दिन आवश्यक छ ।