Wed Sep 28 2022
मुख्य खबर

राष्ट्रपति भण्डारीद्वारा पाँडेको तस्बिरमा माल्यार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बिरमा माल्यार्पण गर्नुभएको छ ।
आज काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी कालु पाँडे, काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको काजी तुलाराम पाँडेको स्मृति सभामा राष्ट्रपति भण्डारीले काजी पाँडेको स्मरणमा उहाँको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।

टिष्टुङ, पालुङ, दहचोक, गोरखाको विजयी अभियानमा काजी तुलाराम पाँडेले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । स्मृति सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल लगायतको उपस्थिति थियो ।

स्मृति सभामा राष्ट्रपति भण्डारीले काजी कालु पाँडे श्रद्धाञ्जली पुस्तिका लोकर्पण गर्नुभएको थियो ।

वि.स. १८२५ आश्विन १४ गते (इ. १७६८ सेप्टेम्बर २६) का राति पृथ्वीनारायण शाहले राज ज्योतिष कुलानन्द ढकालको साइत अनुसार कान्तिपुरमा आक्रमण गरेर काजी वंशराज पाँडे, तुलाराम पाँडे, केहरसिंह बस्न्यातकासाथ पृथ्वीनारायण शाहले १ हजार गोर्खाली तालिमे सिपाही लिएर कान्तिपुर किल्लाको ढोका फोरी एक दल नरदेवीतिरबाट, एक दल भीमसेनस्थान तिरबाट र तेश्रो दल टुँडिखेलतिरबाट हनुमानढोकातर्फ अघि बढेका थिए ।

राजा जयप्रकाश मल्ल खुशीसाथ इन्द्रजात्र मनाइरहेको समयमा गोरखाली सेनाको आक्रमण हुँदा हतप्रद भएका थिए । अतः ४ घण्टासम्म अव्यवस्थित युद्ध लडेर ३०० अंगरक्षकका साथ जयप्रकाश मल्ल तलेजुमा सेतो बारुद ओछ्याई पाटनतिर भागेपछि गोर्खाली सेना तलेजुमा प्रसन्नताका साथ विजयोन्मादमा प्रवेश गरेका थिए ।

सोही बेलामा बारुद जल्दा तुलाराम पाँडेसहितका केही सिपाही जलेर मृत्यु वरण गरेका थिए । पाँडेको कान्तपुर राजदरबार हनुमान ढोकामा देहान्त भएको थियो ।