Tue Sep 27 2022
अन्तर्राष्ट्रिय

सन्दीप आबद्ध जमैकाको लगातार दोस्रो जित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने आबद्ध जमैका तालाबाजले क्यारेवियन प्रिमियर लिग(सीपीएल)मा अपराजित यात्रा जारी राखेको छ ।

ओन्डर पार्कमा शनिबार राति भएको आफ्नो दोस्रो खेलमा गुयना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गर्दै जमैकाले जितको यात्रा जारी राखेको हो । तर, यस खेल पनि सन्दीप टिममा थिएनन् ।

वारियर्सले दिएको १ सय ४३ रनको लक्ष्य जमैकाले ४ बल अगाबै ६ विकेट गुमाएर भेट्यो । उसका लागि कप्तान रोभमन पावेलले अविजित ४४ तथा ब्राण्डन किंग्सले ३२ रन बनाए । इमाद वासिमले १८ तथा क्रिस ग्रिनले अविजित १७ रन बनाए ।

वारियर्सका लागि गुणकेश मोटीले २ तथा रोमारयो शेफर्ड, ताब्रेज साम्सी,ओडेन स्मिथ र ईम्रान ताहिरले समान १/१ विकेट लिए ।

त्यस अघि पहिले ब्याटिङ गरेको वारियर्सले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । उसका लागि कप्तान शिमरन हिटमायरले ३९ तथा रोमारियो शेफर्डले ३६ रन बनाए ।

शाई होपले २५ तथा हेनरिक क्लासनले अविजित २२ रन बनाए । जमैकाका लागि मोहम्मद अमिर ३ तथा मिगाल पिडोरियसले २ विकेट लिए । निकहोल्सन गोरडनले १ विकेट लिए ।

जमैकाको अर्को खेल बिहीबार रहेको छ ।