Mon Sep 26 2022
अन्तर्राष्ट्रिय

नासाको आर्टमिस रकेटको दोस्रो प्रक्षेपण प्रयास अन्तिम समयमा रोकियो, इन्धन चुहावटको समस्या

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपणका लागि गरेको दोस्रो पटकको तयारी पनि अन्तिम समयमा रोकिएको छ ।

रकेटमा इन्धन चुहावटको समस्या देखिएको र परीक्षण प्रक्षेपण स्थगित गरिएको नासाले जनाएको छ । यसअघि गएको सोमवारको प्रयास पनि इन्जिनमा समस्या देखिएपछि अन्तिम समयमा आएर रोकिएको थियो ।

अब आउँदो अक्टोबरअघि रकेट प्रक्षेपण हुने सम्भावना नरहेको नासालाई उद्धृत गरी बीबीसीले जनाएको छ । आर्टमिस नामको यो कार्यक्रमले मानिसलाई पुनः चन्द्रमामा पुर्याउने लक्ष्य लिएको छ ।

यस अभियानअन्तर्गत पहिलो पटक अश्वेत मानिस र महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउन लागिएको नासाले जनाएको छ। स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको यो रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो ।

यसले चन्द्रमामा ५० वर्षको अन्तरमा आउँदो दुई वर्षभित्र मानिस उतार्ने आधार खडा गर्ने भनिएको छ ।