Wed Sep 28 2022
मुख्य खबर

आगामी निर्वाचन लगत्तै सडक संघर्ष गर्ने माओवादी केन्द्रका अध्यक्ष दाहालको घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लगत्तै आफू सडक संघर्षमा जाने घोषणा गर्नु भएको छ ।
निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आफू निर्वाचनपछि लगत्तै सडक संघर्षमा जाने उहाँको भनाई थियो ।

उहाँले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढि छटपटीमा परेको र त्यसको निकासका लागि निर्वाचन लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको बताउनु भयो ।

अध्यक्ष दाहालले समाजवादको यात्रालाई सुनिश्चित गर्नका लागि आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको बताउनु भयो ।

उहाँले एक वर्ष भित्र मुलुकमा आफू नेतृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीति क्षेत्रमा देखिएका सबै विकृति र विसंगतिको अन्त्य हुने दावी समेत गर्नु भयो ।

अध्यक्ष दाहालले संसद विघटन हुँदा भएको सडक आन्दोलनकै कारण त्यसको पुनस्र्थापना गर्न आफूहरु बाध्य भएको भनेर निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्विकार गरेको स्मरण गराउँदै आफूहरु सोही आन्दोलनकै बाटोबाट अघि बढने बताउनु भयो ।