Thu Oct 6 2022
मुख्य खबर

प्रतिनिधि सभा बैठकः शुन्य समयमा के भने सांसदहरुले ?

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयीक विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद बिनाकुमारी श्रेष्ठले पछिल्लो समय देशभर फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले तत्काल पहल गर्न माग गरिन् ।

संसद विन्दा पाण्डेले त्रिभूवन विश्वविद्यालयमा सरकारको सहभागितामै तालाबन्दी भएको भन्दै आपत्ती जनाइन् । उनले विश्वविद्यालयमा मौलाएको बेथिति सबैको चिन्ता र चासोको विषय बन्नुपर्नेमा जोड दिइन् ।

सुन्य समयमै सांसद विमला विश्वकर्माले चाडपर्वहरु नजिक आएकाले बजारको अत्याधिक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरिन् । उनले बजारमा हेरक खाद्यान्नदेखि डिजेल पेट्रोलको समेत मूल्यवृद्धि भएकाले सामान्य नागरिकलाई विहान बेलुका दुई छाक टार्नसमेत समस्या भएको उल्लेख गरिन् ।

त्यस्तै सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत कर्णाली क्षेत्रका स्थानीय बासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरे ।

सांसद शेरबहादुर तामाङले विपद् जोखिम न्यूनिकरण गर्ने प्राधिकरण गठन भएपनि मेलम्ची क्षेत्रमा विपद् व्यवस्थापनमा प्राधिकरण उपस्थित हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

विपद व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको सांसद तामाङको भनाइ छ ।