Tue Sep 27 2022
अन्तर्राष्ट्रिय

युनाईटेडले शीर्ष स्थानको आर्सनललाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शीर्ष स्थानको आर्सनललाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्डले दुई गोल गरे ।

यस्तै डेब्यु खेलाडी एन्टोनी सान्तोसले एक गोल गरे । आर्सनलका बुकायो साकाले एक गोल फर्काए ।

खेलको १२ औं मिनेटमा आर्सनलका मार्टिनेलीको गोलले मान्यता पाएन । गोलअघिको फउलको कारण भीएआरको सहायताबाट उनको गोलले मान्यता नपाएको हो ।

तर, खेलको ३५ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाए । डेब्यु खेलमै उनले गोल गरेका हुन् ।

खेलको ६० औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।

६६ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।

यस जितसँगै युनाईटेडले ६ खेलमा १२ अंक जोडेको छ । युनाईटेड पाँचौ स्थानमा रहेको छ ।

आर्सनल १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आर्सनलको यो सिजनको पहिलो हार हो ।