Mon Sep 26 2022
मुख्य खबर

संघलाई दोष थोपरेर जिम्मेवारीबाट उम्कन मिल्दैनः रमेश पौडेल

वागमती प्रदेश सभा सदस्य रमेश पौडेलले संघीय सरकारका विगतका विकृतिहरुलाई प्रदेश सरकारले हुबहु अनुशरण गर्ने काम भएको टिप्पणी गर्नुभएको छ ।

आज हेटौडामा आयोजित संघीयता सवलिकरण सम्बन्धी छलफलमा उहाँले विगतमा संघीय सरकारबाट भएका गलत अभ्यासहरुलाई बढाईचढाई अनुशरण गरेका कारण प्रदेशसभाले प्रभावकारी ढंगले काम गर्न नसकेको तर्क गर्नुभएको हो ।

गलत अभ्यासहरुलाई बढाईचढाई अनुशरण गर्ने गरिएको भन्दै उहाँले संघीय सरकारलाई सबै दोष थोपरेर प्रदेश सरकार जिम्मेबारीबाट उम्कन नमिल्ने तर्क गर्नुभयो ।

प्रदेशसभा सदस्य रमेश पौडेलले एकल अधिकारका कानून बनाउन किन सकिएन र त्यसलाई कसले रोक्यो भनि प्रश्न गर्नुभयो । प्रदेश सरकारले प्रदेशसभालाई बिजनेस विहीन बनाएर अध्यादेशबाट सरकार सञ्चालन गर्ने काम गरेको भन्दै उहाँले एकल अधिकाकार भित्रैका २३ वटा कानूनहरु किन बन्न सकेनन् भनि प्रश्न गर्नुभयो ।

उहाँले पाँच वर्षसम्म पनि काठमाडौं–बल्खु दक्षिणकाली हुँदै हेटौडा पुग्ने सडक बन्न नसकेकोतर्फ पनि तिखो व्यंग्य गर्नुभयो ।

उहाँले संघीयतालाई सवलीकरण बनाउन प्रदेश मन्त्रालयको संख्या ७ मा सिमित बनाउनुपर्ने, सांसद विकास कोष खारेज गर्नुपर्ने, प्रदेश नीति तथा योजना आयोगमा दक्ष व्यक्तिलाई नियुक्ति गर्नुपर्ने, विकास आयोजनाको छनौट आयोगमार्फत गर्नुपर्ने, परियोजना बैंकको अवधारणालाई पूर्ण रुपमा लागू गर्नुपर्ने, ५० लाख र त्यो भन्दा माथिको योजनाहरुमा मात्रै प्रदेशले हात हाल्नुपर्ने लगायत सुझाव पनि दिनुभयो ।