Mon Sep 26 2022
मुख्य खबर

मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण पुष्टि

७५ जिल्लामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ ।
७७ जिल्लामध्ये मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सबैभन्दा धेरै ललितपुर र काठमाण्डौमा डेंगु फैलिएको छ । ललितपुरमा कतिपय परिवारका सबै सदस्यलाई नै डेंगु पुष्टि भएको छ । देशभर अहिलेसम्म ५ हजार २९ जनालाई डेङ्गी भएको मन्त्रालयको तथ्याङ्क छ ।

यसमध्ये सबैभन्दा धेरै ललितपुरमा १ हजार ८ सय ३२ जना छन भने काठमाण्डौमा ८ सय ८८ जना छन् । डेंगुको सङ्क्रमण नदेखिएका दुई जिल्ला मनाङ र हुम्लामा पनि सङ्क्रमणको जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो ।

डेंगुको सङ्क्रमण फैलिरहेकाले स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा महाशाखाले विज्ञहरुसित छलफल थालेको छ । अझै दुई महिना डेंगुको सङ्क्रमण फैलिने जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।

समुदायमा डेंगु फैलिरहेकाले घर परिवार र समुदाय सचेत हुनुपर्नेमा विज्ञको जोड छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रम लगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न विज्ञको सुझाव छ । यसैबीच, ज्वरो आउनासाथ र जिउ दुख्नासाथ जथाभाबी औषधि नखान पनि डाक्टरको सुझाव छ ।