Fri Oct 7 2022
अन्तर्राष्ट्रिय

केन्याद्वारा नेपाललाई २५६ रनको लक्ष्य

काठमाडौं । घरेलु टोली केन्याले तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपाललाई जितका लागि २ सय ५६ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनायो ।

केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले ।

सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए । कप्तान शेम एनगोचे १७ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र आदील अन्सारीले २/२ विकेट लिए । वसिर अहमद र शाहब आलमले १/१ विकेट लिए ।

आज नेपाल जित निकाल्दै एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा रहेको छ । तीन खेलको सिरिजमा नेपाल २-० ले अघि रहेको छ ।

यस अघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।