Wed Sep 28 2022
अन्तर्राष्ट्रिय

सडक दुर्घटनामा परी बङ्गलादेशमा नौ जनाको मृत्यु, ६३ घाइते

बङ्गलादेशको राजधानी ढाकाबाट तीन सय चार किलोमिटर उत्तरपश्चिममा अवस्थित रङपुर जिल्लामा सोमबार अपराह्न भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् ।

यात्रुबाहक दुईवटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको हो । घटनास्थलमा पाँच जनाको ज्यान गएको रङपुर जिल्लाको तारापुञ्ज क्षेत्रका उपप्रमुख मोहम्मद रसेलले बताए । अन्य चार जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

दुर्घटनामा केही यात्री गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।