Tue Sep 27 2022
देश

बिनोद चौधरी नवलपरासी–१ बाट सिफारिस

नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरीसहित ५ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् । सो क्षेत्रबाट चौधरीसहित देवकरण कलवार, विक्रम खनाल, कुल्दिप आचार्य र उषा बास्तोलाको नाम सिफारिस भएको हो ।

नेपाली काँग्रेस नवलपरासीका जिल्ला सभापति अजुर्न पोखरेलले सुरुमा दुई जनाको नाम आएपछि पछि चौधरीसहितको नाम थपेर ५ जनाको नाम सिफारिस भएको बताए । यस्तै प्रदेश सभातर्फ (क)मा विश्वप्रेम पाठक र (ख)मा मुकुल आचार्य सर्वसम्मत सिफारिस भएका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा प्रतक्ष्यतर्फत पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्र नम्बर २ (क) मा मोहन शर्मा सर्वसम्मत तथा (ख) मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरी सिफारिस भएका छन् ।