Thu Oct 6 2022
आर्थिक

सेयर बजारमा २१ अंकको गिरावट, १ अर्ब १९ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २१.२२ अंकको गिरावट आएको छ । आज मंगलबार कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्ममा घट्दै २१ अंक खुम्चिएर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १९ सय ५१ अंकमा आएर रोकिएको छ ।

यस्तै, आज सेन्सेटिभ समूहमा ३.८९ अंकको गिरावट आउँदै ३७९.०५ अंकमा आइपुगेको छ । यो १.०२ प्रतिशतको गिरावट हो । यसक्रममा आज नेप्सेमा १ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता सेयर किनबेच भएको छ ।

नेप्से घटेपनि आज म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । आज यो समूह ०.०६ अंकले बढेको छ भने यो बाहेक अन्य कुनै पनि समूहमा सुधार आएको छैन । घटेकामध्ये निर्जीवन बीमा कम्पनी समूह १४७ अंकले घटेको छ । यस्तै, जीवन बीमा समूह ८५ अंकले घटेको छ ।

यसैगरी, विकास बैंक समूह ६४ अंकले घटेको छ भने लघवित्त समूह ५२ अंकले घटेको छ । यस्तै, जलविद्युत समूह ४६ अंकले घट्दा वित्त समूह ३५ अंकले घटेको छ । परिसूचक उच्च अंकले घटेपनि आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ ।

यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९२ रुपैयाँ बढ्दै १ जार ४२ रुपैयाँ पुगेको छ । यस्तै, आज सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यो कम्पनीले लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेसँगै सेयर मूल्यमा ७ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।

हिजो सोमबार नेप्सेमा ४.२९ अंकको गिरावट आएको थियो । यसक्रममा नेप्सेमा ९० करोड ९९ लाख रुपैयाँको कारोबार भएको थियो । जुन, आजको कारोबार रकमभन्दा २० करोडभन्दा कम हो ।