Mon Sep 26 2022
अन्तर्राष्ट्रिय

एसिया कप : पाकिस्तान र अफगानिस्तान भिड्दै

काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा आज बुधबार एक खेल हुँदैछ । सुपर चार अन्तर्गत बुधबार हुने खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

सारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ । दुई पटकको च्याम्पियन पाकिस्तान यस खेलमा पनि जित हात पार्दै फाईनलको सम्भावना बलियो बनाउन चाहन्छ ।

सुपर चारको पहिलो खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो ।

यता, पहिलो पटकको च्याम्पियन बन्ने लक्ष्यमा रहेको अफगानिस्तान सुपर चारमा पहिलो जित निकाल्दै फाईनलको सम्भावना जीवित राख्न चाहन्छ ।

पाकिस्तान र अफगानिस्तानले २ टी-ट्वान्टी खेलेकामा दुवै खेल पाकिस्तानले जितेको छ ।

पछिल्लो पटक टी-ट्वान्टी विश्वकप २०२१ मा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराएको थियो।

प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन् । समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन् ।

सुपर चारमा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।