Fri Oct 7 2022
देश

कमेडियन अपूर्व क्षितिजलाई थुनामा राखेको विषय एमालेले संसदमा उठायो

नेकपा एमालेले कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राखेको विषय प्रतिनिधिसभा बैठकमा उठाएको छ । बुधबार बसेको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले ब्यङ्ग्य गरेकै आधारमा उनलाई थुनामा राख्नु गैरकानुनी भएको बताएका छन् ।

१० दिनदेखि थुनामा रहेका उनले आफ्नो कमेडी पनि हटाएको भन्दै ब्यङ्ग्य गरेको आधारमा थुनामा नराख्न आग्रह गरे । उनले हाल गठबन्धन सरकारका मन्त्रीहरु सुरक्षा गार्डले कर्के आँखाले हेर्यो भने पनि थुनाउने अवस्था रहेको बताए ।

उनले भने– ‘भनुँ भने के भनुँ, मन्त्रीज्यूलाई अलिकति आलोचना गर्यो भनेपनि पक्राउ परेर जाने अवस्था छ उहाँले गरेको हास्य प्रस्तुतिका क्रममा कसैलाई मर्का पर्यो होला । कसै न कसैलाई मार्का पार्ने प्रस्तुति नै हुन्छ हास्य कलाकारमा । प्रज्ञा भवन, राष्ट्रियसभा गृहमा शीर्ष नेताहरुले आफू माथिको कडा ब्यङ्ग्य हाँसी हाँसी स्वीकारी रहेको देखेका छौँ । अपूर्व क्षितिज जस्तो हास्य कलाकारलाई १० दिनदेखि थुनिएको छ म उहाँको शीघ्र रिहाइको कामना गर्दछु ।’ उनले क्षमा मागेको अवस्थामा थुनामा राखेर अत्याचार नगर्न आग्रह गरे ।