Wed Sep 28 2022
अन्तर्राष्ट्रिय

छैटौं महिला साफ : भारतद्वारा पाकिस्तान पराजित

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पाकिस्तानलाई ३-० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो ।

भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १-० को अग्रता बनाएको थियो ।

खेलको २३ औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाईन्। त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गर्दै भारतलाई ३-० को जित दिलाईन् ।

यस जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमै ३ अंक जोडेको छ । पाकिस्तानले भन हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

प्रतियोगिता अन्तर्गत नै आज हुने अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । बंगलादेश र माल्दिभ्सबीचको खेल ५:३० बजे सुरु हुनेछ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।