Thu Oct 6 2022
देश

असोज १ भित्र नागरिकता विधेयक प्रमाणीकरण नभए के हुन्छ ?

काठमाडौं । संघीय संसद्बाट पारित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेको छ ।

राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मा फिर्ता पठाइएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले यथावत् रूपमै पारित गरेपछि पुनः प्रमाणीकरणका लागि पठाइएको हो । राष्ट्रपति भण्डारीको चासो सम्बोधन नगरी विधेयक पुनः प्रमाणीकरणका लागि पठाइएपछि उनले आन्तरिक छलफल थालेकी छन् ।

असोज १ भित्र प्रमाणीकरण भएन भने यो विधेयकको अस्तिव के हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ । प्रतिनिधिसभाको कार्यकाल असोज १ सम्म छ । विधेयकलाई गत सोमबार प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेपछि सोही दिन प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको हो ।

संविधानको धारा ११३ को उपधारा ९४० ले राष्ट्रपतिलाई अर्थबाहेकका विधेयक पुनर्विचारका लागि सन्देशसहित १५ दिनभित्र सदनमा फिर्ता गर्न सक्ने अधिकार दिएको छ । तर त्यसरी फिर्ता भएको विधेयकमाथि दुवै सदनले पुनर्विचार वा जस्ताको तस्तै पारित गरी पुनः राष्ट्रपतिसमक्ष पठाइए उनले प्रमाणीकरण गर्नुको विकल्प छैन । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।