Fri Oct 7 2022
अन्तर्राष्ट्रिय

भियतनामको केराओके बारमा भीषण आगलागी, ३२ जनाको मृत्यु

भियतनामको दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएको बताइएको छ । मंगलबार राति केराओके परिसरको दोस्रो तलाबाट निस्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको देशको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँबाट निस्कने आकस्मिक बाटो पनि आगोको चपेटामा परेको छ ।

रिपोर्टका अनुसार दोस्रो तल्लाबाट सुरु भएको आगो चाँडै नै तेश्रो तलामा पुग्यो, जहाँ फास्ट तीब्र गतिमा जल्ने सामान राखिएको थियो । सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कोङ एन हान दानका अनुसार मृत्यु हुने ३२ जनामध्ये १७ जना पुरुष र १५ जना महिला रहेका छन् ।

यस्तै अर्को वेबसाइटले अधिकारीहरूलाई उद्धृत गर्दै आगलागी हुँदा बारमा करिब ६० जना उपस्थित थिए भन्ने जानकारी दिएको छ । आगलागीबाट बच्न धेरै मानिसहरु बालकनीमा जम्मा भएको तर काठले बनेको इन्टेरियरसम्म आगो फैलिएपछि त्यहाँ सुरक्षित बस्नु सम्भव भएको थिएन । यस्तो अवस्थामा चारजनाले भाग्नका लागि भवनको दोस्रो र तेस्रो तल्लाबाट हाम फालेका थिए ।