Thu Oct 6 2022
आर्थिक

चुनाव चितवनबाटै लड्ने हो, जित सुनिश्चित छः प्रचण्ड

पोखरा । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू चितवनबाटै चुनाव लड्ने स्पष्ट पारेका छन् । आज (शुक्रबार) पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘मलाई विभिन्न जिल्लाबाट अन्य पार्टीका साथीहरुले पनि आइदिनुपर्‍यो भन्नु भएको छ’, पत्रकारले राखेको जिज्ञासामा उनले भने, ‘कांग्रेसका नेताले गोरखा आइदिनु पर्‍यो भन्नु भयो । तर म अहिले चितवनबाटै लड्छु । चितवनका जनता, चेतना र भावनाप्रति विश्वास छ । गठबन्धन पनि छ । जित सुनिश्चित छ ।’

उनले चितवन भन्दा बाहिर जाँदा सन्देश राम्रो नजाने पनि बताए । ‘चितवन छाड्दा सन्देश राम्रो हुँदैन । त्यहाँ चुनाव लड्दा कहिँ न कहिँ नकारात्मक सन्देश जान्छ । चितवनमा जित्छु भन्नेमा पूर्ण विश्वासमा छु । हुन त म फरक फरक ठाउँबाट चुनाव लडेँ । प्रचण्ड देशभरिका जनताको हो भन्ने सन्देश दिनु थियो’, उनले भने, ‘अहिले चितवन छाडेर हिँडदा डराएर हिंडेको भन्ने हुन्छ । मैले त्यहाँ जित्छु पनि ।’