Sun Sep 25 2022
अन्तर्राष्ट्रिय

उत्तर कोरिया आणविक हतियार सम्पन्न राष्ट्र घोषणा

काठमाडौँ । उत्तर कोरियाले आफूलाई आणविक हतियार राष्ट्र घोषणा गरेको छ । यसका लागि उत्तर कोरियाले कानुन पारित गरेको छ । सरकारी समाचार संस्था केसीएनएले यो जानकारी दिएको हो ।

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले यो निर्णयमा कुनै परिवर्तन नहुने बताएका छन् । उनले यस विषयमा कुनै पनि तहको वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।

उत्तर कोरियाको यो कानून अनुसार देशलाई आफ्नो रक्षाका लागि आणविक हतियार प्रयोग गर्ने अधिकार हुनेछ । धेरै प्रतिबन्धका बाबजुद उत्तर कोरियाले सन् २००६ देखि २०१७ सम्म ६ वटा आणविक परीक्षण गरेको थियो । संयुक्त राष्ट्र सुरक्षा परिषद्का धेरै प्रस्तावहरूको बावजुद उत्तर कोरियाले आफ्नो सैन्य क्षमतालाई बढाएको छ । किम जोङले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि दुई पटक शिखर वार्ता गरेका थिए तर त्यसको कुनै फाइदा भएन ।

त्यसयता अमेरिका र उत्तर कोरियाबीचको वार्ता रोकिएको छ । तर, बाइडेन सरकारले उत्तर कोरियासँग वार्ता गर्न चाहेको संकेत गरेको थियो । तर राष्ट्रपति बाइडेनले किम जोङ उनसँग भेटघाट गर्ने कि नगर्ने भन्ने स्पष्ट भएको छैन । यो वर्ष उत्तर कोरियाले कीर्तिमानी संख्यामा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो । जसका कारण कोरियाली प्रायद्वीपमा पनि तनाव बढेको छ ।