Thu Oct 6 2022
मुख्य खबर

झलनाथले भने – चुनावअघि माओवादीसँग कार्यगत एकता हुन्छ

नेपाल कम्युनिष्ट पार्टी९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनले शुक्रबार साँझ पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि एकता नहुने स्पष्ट पारे।

उनले भने, ‘विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले आफू सधैँ वामगठबन्धन र कम्युनिष्ट एकताका पक्षमा रहे पनि वाम घटकका नेतृत्वमा रहेका नेताहरुले एकतामा रुचि नदेखाएको जिकिर गरे।

सत्ता गठबन्धनका दलकाबीच चुनावी तालमेलको निर्णय भइसकेकाले गठबन्धन हुने निश्चित भएको र सिट बाँडफाँटमा पनि ९० प्रतिशत सहमति भएकाले ढिलोमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने बताए । सम्मानित नेता खनालले आगामी निर्वाचनमा राष्ट्रियताका लागि लड्ने उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।