Mon Sep 26 2022
Breaking News

कैलालीमा समुदायस्तरमै फैलिन थाल्यो डेंगु

धनगढी – कैलालीमा समुदाय स्तरमै डंगुको संक्रमण फैलिन थालेको छ । कैलालीको पूर्वी क्षेत्रमा डेंगुको संक्रमण उच्च रहँदा मृत्युदर भने धनगढी क्षेत्रमा बढ्न थालेको हो । स्वास्थ्य कार्यालय कैलालीका कार्यालय प्रमुख लालबहादुर धामीका अनुसार नागरिक रोगप्रति संवेदनशील नहुँदासम्म यो समस्या बढ्न सक्ने देखिएको छ ।

उनले डेंगुकै कारण कैलालीमा दुई सातायता दुई जनाको मृत्यु भइसकेको बताए । डेंगुको जोखिम क्षेत्र बिरामीको दर हेर्दा लम्कीमा बढी रहेको भए पनि मृत्युको दर धनगढी र टीकापुरमा बढ्न थालेको उनले बताए । तर अहिलै नै जोखिम क्षेत्र यो हो भन्नेबारेमा भने अझै स्पष्ट नभएको उनले बताए । ‘जोखिम क्षेत्र यकिन गर्न सकिएको छैन,’ धामीले भने, ‘स्थानीय तहसँगको समन्वयमा अहिले सबै पालिकाको जोखिमलाई अध्ययन भइरहेको छ।’

१० हजार जनामा डेंगु संक्रमण हुँदा एक सय जना जति मात्रै गम्भीर बिरामी पर्ने गरेको भन्दै उनले अहिले गम्भीर बिरामी भेटिएका स्थानलाई मात्रै जोखिम क्षेत्र हो भनेर भन्न नमिल्ने बताए । ‘धेरै मानिसलाई डेंगुको संक्रमण भए पनि रोगको लक्षण नदेखिने वा सामान्य लक्षण मात्रै देखिने भएका कारण बिरामी स्वास्थ्य संस्थाको पहुँचमा नआएका हुन सक्दछन्, हामी सबै क्षेत्रमा परीक्षण गरेर कुन क्षेत्र जोखिममा छ भन्ने छुट्याउने प्रयत्न गर्दै छौँ,’ उनले भने । धामीले डेंगुलाई थप फैलन नदिन कैलालीका स्थानीय तहहरूले सचेतनामूलक कार्यक्रमसहित लार्भा खोज तथा नष्ट अभियान गरिरहेको बताए ।

स्वास्थ्य कार्यालय कैलालीले उपलब्ध गराएको तथ्यांकअनुसार लम्की चुहा नगरपालिकामा ६६ जना डेंगुका बिरामी फेला परेका छन । यसैगरी घोडाघोडी नगरपालिकामा दुई र बर्दगोरिया गाउँपालिकामा तीन गरी ७१ जना डेंगुका बिरामी फेला परेको कार्यालयको तथ्यांकमा रहेको छ ।

जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा ९५ जना डेंगुका बिरामी फेला परेकोमा ५९ जना लम्की चुहा नगरपालिकाका रहेका थिए भने आर्थिक वर्ष २०७८/७९ मा एक सय ५६ जना बिरामी फेला परेकोमा एक सय ३३ जना सोही नगरपालिकाका रहेका थिए । डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गरेको छ । सो लामखुट्टेले दिउँसोको समयमा टोक्ने र घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनु भन्दा दुई घण्टा अगाडि सक्रिय हुने गरेको छ ।