Thu Oct 6 2022
अन्तर्राष्ट्रिय

एएफसी यू-२० : नेपाल कतारसँग पराजित

काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

सोमबार राति भएको खेलमा कतारसँग ३-१ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बलियो कतारविरुद्ध नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो।

खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा मोहमद सुरागले गोल गर्दै कतारलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा नेपालले एक गोल फर्काउदा थप एक गोल व्यहोरेको थियो ।

खेलको ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरेपनि कतार ३-१ ले विजयी भयो ।

यस जितसँगै कतारले प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कतारले पहिलो खेलमा ३ अंक जोडेको छ ।

लगातार दुई खेल व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन । समूह ‘बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ ।

यस अघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २-० गोलले पराजित भएको थियो ।

यस समूहमा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश रहेका छन्।

अब नेपालले बुधबार आयोजक बहराइनसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।