Tue Sep 27 2022
मुख्य खबर

महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी गौतमलाई

प्रतिनिधिसभा अन्तरगतको महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग छानवीन गर्न गठित महाअभियोग सिफारिस समितिको आज सिंहदरवारमा बसेको बैठकले गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

समितिका कामकारबाहीहरुबारे भ्रमपूर्ण सूचना जनतामा नजाओस् भनेर समितिका सचिव गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको समितिका सदस्य एवम् काँग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिनु भयो ।

सबै राजनीतिक दलका प्रतिनिधिहरु भएकाले गौतमलाई प्रवक्ता तोक्ने काममा कुनै विवाद समितिमा नभएको पनि उहाँले स्पष्ट पार्नु भयो ।

बैठकमा समितिको सूचना गलत ढंगले बाहिर गएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।