Sat Oct 1 2022
मुख्य खबर

नाष्टले अनुसन्धानमा चासो नदिएको शिक्षामन्त्री पौडेलको गुनासो

विश्वका अधिकांश मुलुक विज्ञान र प्रविधिको विस्तारसँगै विकासको तिब्र गतिमा रहेको बेला नेपालमा भने नयाँ आविष्कार र वैज्ञानिक अनुसन्धानको गति शुन्य प्राय छ ।

सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नाष्टले उद्देश्य अनुसार गति लिन नसक्दा नेपाल अरु मुलुकको आविष्कारमै रमाइ रहेको छ ।

प्रविधिको विकाससँगै विश्व अहिले प्रत्येक दिन नयाँ नयाँ आविष्कार र वैज्ञानिक अनुसन्धानमा होमिएको छ । विकासको मेरुदण्ड मानिएको विज्ञान प्रविधिको क्षेत्र अहिले विश्वकै लागि आकर्षणको केन्द्र बनेको छ । तर विडम्वना नेपाल विज्ञान प्रविधिको मामिलामा धेरै पछि छ । सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नाष्टले नुसन्धानको विषयमा चासो नदिएको स्वयं विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नै गुनासो गरेका छन् ।

मंगलवार गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कारले सम्मान कार्यक्रममा मन्त्री पौडेलले नाष्टका बारेमा दिनहुँ छलफल भएपनि अनुसन्धानका बारेमा नाष्टको चासो नरहेको बताए । नास्टका प्राज्ञहरु अनुसन्धानमा भन्दा बाहिरी कुरामा बढी राख्ने गरेको मन्त्री पौडेलको भनाइ छ ।

मन्त्री पौडेलले नाष्टका अनुसन्धान केन्द्रहरु विश्वविद्यालयसँगको सहकार्यमा अघि बढाउने पहलकदमी थालिएको बताए । नेपालमा अनुसन्धानका कार्यक्रम अघि बढाउनसके नयाँ प्रतिभा भएका युवा पुस्तालाई सहयोग पुग्ने उनको विश्वास छ ।

मन्त्री पौडेलले देश निर्माण गर्ने संकल्प सबै नेपालीले गर्नुपर्ने भन्दै देश विकासका लागि धेरै लगानी गर्न आवश्यक नरहेको तर्क गरे । विगतमा बनेका संरचनालाई पुनः स्थापना गर्दै उर्जा र पर्यटनमा नयाँ प्रविधिको प्रयोगबाट देश विकास हुने ठोकुवा गरे ।