Thu Oct 6 2022
मुख्य खबर

महाअभियोग सिफारिस समिति बैठक बुधबार पनि बस्ने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बुधबार पनि महाअभियोग सिफारिस समितिको बैठक बोलाइएको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बुधबार बिहान ९ बजे समितिको बैठक पुनः बोलाइएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिनु भयो ।

आजको बैठककमा ३६ देखि ४३ नम्बर सम्मको प्रश्न सोधी जवाफ लिइएको छ । प्रवक्ता गौतमका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराले बयानको क्रममा आरोप लगाएका व्यक्तिहरुलाई पनि आवश्यकता अनुसार बयान लिने समितिको योजना छ ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने महाअभियोग सिफारिस समितिका सबै बैठकहरु प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउन समितिसँग माग गरेको छ ।

एमालेले सत्तारुढ दलका नेताहरुले समितिका गतिविधिलाई आफू अनुकूल हुने गरी सञ्चार माध्यममा दिएको भन्दै बैठकमा असन्तुष्टि जनाएका थिए ।