Fri Oct 7 2022
मुख्य खबर

आयुर्वेद उपचारमा सर्वसाधारणको आकर्षण

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले प्यारालाइसिस, बाथ, जोर्नीका समस्या भएका बिरामीलाई लक्षित गरी फिजियोथेरापी सेवा समेत सञ्चालनमा ल्याएसंगै उपचार सेवा लिन आउनेको संख्या बढ्दै गएको छ ।

आयुर्वेदिक पद्धतिबाट उपचार गर्दा स्वास्थयमा गम्भिर असर नगर्ने र एलोप्याथिक विधिबाट लामो समय उपचार गरी थकित भएका व्यक्ति पनि आयुर्वेदिक उपचारमा आउने गरेका छन् ।

गण्डकी प्रदेश सरकारको सहयोगमा फिजियोथेरापी मेसिन ल्याएपछि केन्द्रले आन्तरिक स्रोतबाट आवश्यक अन्य उपकरणको व्यवस्थापन गरी फिजियोथेरापी उपचार सेवा सञ्चालनमा ल्याएको केन्द्रका सुचना अधिकारी सोमकान्त पौडेलले बताए ।

केन्द्रले समय–समयमा स्थानीय तहका ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य शिविरमार्फत उपचार सेवा समेत दिंदै आएको छ ।आयुर्वेद स्वास्थ्य केन्द्रबाट स्वर बसेका, श्वासप्रश्वास सम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी, ग्याष्ट्रिक, प्रसूति, बमनथेरापी लगायत सेवा लिन सेवाग्राही आउने गरेका छन् ।

अधिकांश सेवाग्राहीहरु विभिन्न अस्पताल धाएर पनि रोग निको नभएपछि आयुर्वेद स्वास्थ्य केन्द्रमा आइपुग्ने गरेका छन् । आयुर्वेद उपचार स्वास्थ्य केन्द्रमा आइपुग्दा सेवाग्राहीको स्वास्थ्यमा २/३ वटासम्म रोगका समस्या देखिने हुँदा लामो समयसम्म उपचार गर्नुपर्ने अवस्था आउने गरेका छन ।

आयुर्वेद स्वास्थ्य केन्द्रबाट आर्थिक वर्ष २०७८/०७९ मा ७३ हजार ५१४ जनाले उपचार सेवा लिइएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ५५ हजार ८४२ जनाले उपचार लिएका थिए भने २०७६/०७७ मा ३८ हजार ५८५ जनाले स्वास्थ्य उपचार सेवा लिएको केन्द्रले जनाएको छ ।

केन्द्रमा सेवा लिन तनहुँ, छिमेकी जिल्ला गोरखा, लमजुङका केही क्षेत्रका मानिससमेत आउने गरेका छन् ।

आयुर्वेद सेवा सम्वन्धी भ्रामात्मक विज्ञापन तथा भ्रम, कार्यक्रमहरुको अभिमुखिकरण नहुनु, भौगोलिक कठिनाई, कार्यविधि एवं निर्देशिका बमोजिम न्यून बजेटको व्यवस्था, पुनःताजगी तालिम विहिन जनशक्ति, न्युन गुणस्तरीय आयुर्वेद औषधीहरुको उत्पादन, फिजियोथेरापी संचालनका लागि जनशक्तिको अभाव जस्ता कारण केन्द्रले सेवालाई प्रभावकारी बनाउन सकेको छैन ।