Sat Sep 24 2022
मुख्य खबर

जबराले नाम लिएका सबैलाई बोलाउने महाअभियोग सिफारिस समितिको निर्णय

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका नाममध्ये राजनीतिज्ञहरूबाहेक अरूलाई बोलाउने भएको छ । बुधबार बिहान बसेको सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो ।

समितिका सभापति रामबहादुर विष्टले बयानका क्रममा चोलेन्द्र शमशेर जबराले नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू जो जो छन्, उनीहरूलाई बोलाउने र आजै पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए । जबराले बयानका क्रममा ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा।बाबुराम भट्टराईलगायतको नाम लिएका थिए ।

यस्तै, पूर्व प्रधानन्यायाधीश दीपककुमार कार्की, अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, पूर्णमान शाक्य, ओमप्रकाश अर्याललगायतको नाम जबराले बयानका क्रममा लिएका थिए । अब ती सबै नाम मुछिएकासँग समितिले बिहीबारदेखि सोधपुछ गर्नेछ ।