Thu Oct 6 2022
मुख्य खबर

डेंगुबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य राज्यमन्त्री केसीको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताएका छन् ।

‘डेङ्गु सङ्क्रमण देखिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल गरेर स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको छ । जनप्रतिनिधिसँगै स्थानीय सरोकारवाला, स्वास्थ्य स्वयंसेविका मिलेर डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने, त्यसलाई नष्ट गर्ने, चेतना फैलाउनेलगायत काम भइरहेको छ’ राज्यमन्त्री केसीद्वारा जारी अपिलमा भनिएको छ ।

डेङ्गुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउनसमेत उनले अनुरोध गरेका छन् । ‘डेङ्गुको प्रकोपलाई ध्यानमा राख्दै मन्त्रालयले प्रतिकार्य योजना बनाएर काम गरिरहेको छ,’ अपिलमा उल्लेख छ । मन्त्रालयले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । नेपालमा हालसम्म ११ हजार ६५ जनामा डेङ्गु देखिएको छ ।