Sat Oct 1 2022
मुख्य खबर

अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भूमिका देखिनु सुखद् : सापकोटा 

चिनियाँ मामिला जानकार रुपक सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भुमिका देखिनु नेपालका लागि नयाँ आयम बताएका छन् ।

विश्वका विकसित देशहरुले नेपालको संसदसँग साझेदारी र सहकार्यको नयाँ आयाम थप्नुले नेपालको संसदले नयाँ उचाई छोएको बताएका हुन् ।

उनले अहिलेसम्म सरकारदेखि सरकारसम्मको सम्बन्धले चीन र नेपालको सम्बन्धमा स्थान पाएको उल्लेख गर्दै चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबाट चीन पनि नेपालको संसदसँग सहकार्य गर्न इच्छुक रहेको भन्ने कुरा प्रमाणित भएको बताए ।

उनले ली चान्सुको नेपाल भ्रमणले नेपाल–चीनको सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको पनि बताए । उनले नेपालले अवलम्वन गरेको सुधारिएको संसदीय व्यवस्था र संसदको बिस्तारित भुमिकालाई नियालेर चीनले सम्बन्ध बढाएको हुनसक्ने बताए ।

दुई देशबीचका सभामुखमा भएको सम्झौता हेर्दा अन्तर संसदीय सहकार्यलाई शुरुवात गर्ने कुरा उल्लेख गरिएको जनाकारी समेत दिए ।

सापकोटाले नेपालमा भूराजनीतिक महत्व बढेका कारण पछिल्लो समय विभिन्न शक्ति राष्ट्रहरु अमेरिका, भारत र चीनबाट पछिल्लो समय धेरै सहभागिता र महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरु भइरहेको बताए ।

उनले नेपालको संसदमा पनि असल संसदीय अभ्यासहरु रहेको र चीनले नेपालबाट यी असल अभ्यासहरु सिक्न लायक रहेको बताए । उनले यो भ्रमणले नेपाल र चीनका राम्रा संसदीय अभ्यास साटासाट हुने र संसदीय विषयहरुलाई बढवा दिने बताए ।

उनले अमेरिका, चीन र भारतबीचको त्रिपक्षीय शक्ति संघर्ष चलिरहेका बेला नेपाल अमुक मुलुकको रणनीतिमा सामेल भयो भने आफ्नो राष्ट्रिय सुरक्षामा असर पर्ने डरका कारण पनि चासो बढेको बताए ।

उनले यस्ता भ्रमणलाई राम्रो पक्षबाट हेर्न आवश्यक रहेको र नेपालले यस किसिमका भ्रमणबाट देशको विकासका लागि थप सहकार्य र समझदारीहरुको पहल गर्नेकुरामा फाइदा उठाउन बताए । उनले शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाले अहिलेको नेपालको भूराजनीतिक सुरक्षामा दखल पुग्ने कुरामा चनाखो हुन आवश्यक रहेको बताए ।

उनले अहिलेको परिस्थितिमा रणनैतिक चरित्रका सैन्य वा सामरिक चरित्रको गठबन्धन, परियोजनामा नेपाल सरिक हुनु नहुने बताए ।