Sat Oct 1 2022
मुख्य खबर

प्रतिनिधिसभा बैठक : शून्य समयमा कसले के भने ?

प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले समसामयिक विषयहरुको उठान गरेका छन । शिक्षक आन्दोलन, साइबर क्राइम, नागरिकता विधेयक, निललम्वित प्रधानन्यायाधीश जबराको बयानसँगै सार्वभौम संसदलाई निर्वाचन आयोगले गरेको निर्देशनका विषयमा सांसदहरुले आवाज उठाएका हुन ।

बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा सांसद मनकुमारी जिसीले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन ।

उनले प्राथमिक तहदेखि उच्च माविसम्मका शिक्षकहरुको माग सम्बोधन नभएसम्म गुणस्तरीय शिक्षा हुन नसक्ने बताइन । सांसद जिसीले सरकारले आन्दोलनरत शिक्षकका माग सम्बोधनमा ध्यान नदिएको बताइन ।

सांसद महेश बस्नेतले केही जनप्रतिनिधिहरुले साइवर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप लगाए । सांसद बस्नेतले काठमाडौं महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरुको उचित समय र क्षतिपूर्ति दिनु पर्ने माग राखे ।

उनले डेंगु रोग नियन्त्रण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताए । उनले नागरिकता विधेयक अब वर्तमान संसदको अवधि सकिएकाले अर्को संसदमा छलफल गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै सांसद यज्ञराज सुनुवारले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले उठाएका गम्भीर सवालमा सरकार र महाअभियोगमा हस्ताक्षर गर्ने सांसदहरु नबोल्दा संसय पैदा भएको बताए । उनले महाअभियोगलाई मंसिर ४ गतेको निर्वाचनमार्फत जनअभियोगमा रुपान्तरण गर्ने प्रयास भइरहेको हो ? भन्ने प्रश्न उठेको बताए ।

त्यस्तै सांसद यशोदा गुरुङ सुवेदीले सार्वभौम संसदलाई निर्देशन गर्ने अधिकार निर्वाचन आयोगलाई नभएको बताइन । उनले निर्वाचन आयोगले असोज १ गते राति १२ बजेपछि संसदको अवधि सकिने भन्ने पत्र पठाएकोप्रति असन्तुष्टि व्यक्त गरिन ।

त्यस्तै सांसद राजन केसीले संसदलाई निर्वाचन आयोगले चिनाउने वा संसदले चिनाउने स्पष्ट हुनुपर्ने बताए । सांसद मिमसेनदास प्रधानले संसदको बैठकमा नियमित आउने र नआउनेबीचको मूल्याङ्कन नभएको बताए । उनले अब बन्ने संसदमा सांसदहरुको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गर्न माग गरे । त्यस्तै सांसद मिना पाण्डेले नागरिकता विधेयक राष्ट्रपतिले रोक्न नहुने बताइन ।