Mon Sep 26 2022
मुख्य खबर

सरकारी कार्यालयले नेपाली सामग्री प्रयोग गरे देशको अर्थतन्त्र सुध्रिन्छ : महामन्त्री थापा 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमै उत्पादित सामग्रीहरु सरकारी कार्यालयमा प्रयोग हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताउनुभएको छ ।

आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले सरकारी कार्यालयमा प्रयोग हुने ७० देखि ८० प्रतिशत वस्तुहरु नेपाली उत्पादन हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताउनुभएको हो ।

उहाँले विगतमा नेपाली उत्पादनका वस्तुहरुमा १० देखि १५ प्रतिशत बढी शुल्क तिरेर प्रयोग गर्ने नीतिले काम नगरेको भन्दै सरकारी कार्यालयहरुमा अनिवार्य रुपमा नेपालमै उत्पादित सामानको प्रयोग गर्नुपर्ने व्यवस्था गर्नु आवश्यक रहेको बताउनु भयो ।

महामन्त्री थापाले सरकारले नेपाली उत्पादनका लागि नीतिगत सहजता गर्न सके १० वर्षमा मुलुकको आर्थिक अवस्था सुधार गर्न सकिने बताउनु भयो । उहाँले उद्योग मन्त्रालयले उद्योग क्षेत्रको नेतृत्व गर्न नसकेको बताउनु भयो ।

थापाले अर्थ मन्त्रालयले उद्योग स्थापना गर्न छुट दिएका विषयमा उद्योग मन्त्रालयले सहकार्य गर्नुपर्ने बताउनु भयो । उहाँले नीतिगत सुधारको क्षेत्रमा अर्थ नीति बनाउने बेला उद्योग मन्त्रालयले अर्थ मन्त्रालयलाई गाइड गर्न सक्नुपर्ने बताउनु भयो ।