Tue Sep 27 2022
मुख्य खबर

चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भइरहेको बताउनु भएको छ ।

अध्यक्ष नेपालले नगरेपनि हुन्थ्यो नि भन्नेहरुले पनि निर्वाचनमा टिकट लिनका लागि चर्को दाबी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भईरहेको बताउनुभएको हो ।

आज काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा उहाँले उठेर दुई कदम पनि हिँडन नसक्ने वृद्धहरुले समेत टिकटको आकांक्षा राखेको बताउनु भयो । अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउँदा बेहोस् हुने होकि भन्ने चिन्ता आफूलाई लागेको पनि बताउनु भयो ।

अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराउनु भयो । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उहाँको भनाई थियो ।