Sat Oct 1 2022
मुख्य खबर

गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटनाबाट जोगायो : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको बताएका छन्।

बागमती नदी किनारका अव्यवस्थित बस्तीहरूको दीर्घकालीन समस्या समाधानका विषयमा बिहीबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा उनले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसद्लाई दुई पटक भंग गरेको कारणले संविधानलाई जोगाउनका लागि गठबन्धनको सरकार बनेको बताएका हुन्।

आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरूलाई मतदान गरेर जिताउनुपर्ने उनले बताए । त्यस्तै उनले बागमती नदी किनारका अव्यवस्थित बस्तीहरूको दीर्घकालीन समस्या समाधानका गर्न आफू प्रतिबद्ध रहेको बताए। काठमाडौँ जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने उनको भनाई छ ।

नेता सिंहले बागमती नदीको किनारका बस्तीहरूको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गरेर नै अघि बढ्नु पर्ने आवश्यकता रहेको धारणा राखे।

तत्कालीन नेकपाको सरकारले आवश्यक कानुन समयमा नै नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेकाले समस्या सिर्जना भइरहेको उनले बताए ।