Fri Oct 7 2022
मुख्य खबर

भारतको सैन्य भर्ती योजना अग्निपथ बारे चुनावपछि बन्ने सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय

भारतको सैन्य भर्ती योजना अग्निपथबारे सरकारले कुनै निर्णय नगर्ने स्पष्ट गरेको छ ।

आज परराष्ट्र मन्त्रालयले सिंहदरबारमा गरेको नियमित पत्रकार सम्मेलनमा भारतको सैन्य भर्ती योजना अग्निपथबारे सरकारले कुनै निर्णय नगर्ने स्पष्ट गरेको हो ।

पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकार निर्वाचनको मिति तोकिसकेको अवस्थामा सरकार तत्काल कुनै निर्णय गर्ने पक्षमा नरहेको बताउनु भयो ।

प्रवक्ता लम्सालले तत्कालका लागि अग्निपथसम्बन्धी विषयलाई थाँती राखेको भन्दै राजनीतिक दलहरुसँग परामर्श गरेर राष्ट्रिय सहमतिमा पुग्ने गरी आगामी सरकारले निर्णय गर्ने बताउनु भयो ।

प्रवक्ता लम्सालले बाढी पहिरोका कारण उत्तरी नाकामा केही समस्या आएपनि दशैंअघि पूर्ण रुपमा सञ्चालन हुने उल्लेख गर्नुभयो । यस सम्बन्धमा चिनियाँ पक्षसँग पनि कुराकानी भइसकेकोले दशैँ भन्दा अघि नै राम्रोसँग नाका सञ्चालन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

प्रवक्ता लम्सालले पत्रकार सम्मेलनमा पाकिस्तान सरकारलाई नेपालले गरेको सहयोग, बेलायती महारानी एलिजावेथ द्वितीयको निधनपछि नेपालले गरेको सम्मान र चिनियाँ काजनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबारे जानकारी गराउनु भयो ।