Sat Oct 1 2022
Breaking News

बाह्य हस्तक्षेप स्वीकार्य छैनः ओली

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवसको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा वाकथन (पदयात्रा) पछि बसन्तपुरमा समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा गर्दै जनतालाई साथमा लिएर देशलाई विकासको बाटोमा लैजानुपर्ने धारणा राखेका हुन् ।

पदयात्राको नेतृत्व गरेका ओलीले सम्बोधनका क्रममा भने, ‘देशलाई गठबन्धनले ओरालोतिर लगिराखेको छ । यस ओरालो गतिलाई रोकेर देशलाई अगाडि लैजाने, माथि चढाउने, लोकतन्त्रको अभ्यासका हिसाबले, संविधान कार्यान्वयनका हिसाबले, शान्ति सुरक्षाका हिसाबले, भ्रष्टाचार नियन्त्रणका हिसाबले सशक्त ढंगले अगाडि बढ्नेछौँ ।’

उनले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता, विकासको अभियान, सुशासनको प्रयास हार्न नहुने टिप्पणी गरे। पूर्वप्रधानमन्त्री ओलीले लोकतन्त्र नेपाली जनताको शासन भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने धारणा राखे । ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले यसको फैसला जनता गर्ने बताए । उनले आगामी निर्वाचनमा एमालेले हार्न नहुने सन्देशसमेत दिए ।

ओलीले संविधानपछिको पाँच वर्षे कार्यकाल पूरा गरेर मुलुक अर्को निर्वाचनमा गइरहेको बताए । ‘संविधान जारी भएपछि भएको पहिलो आम निर्वाचन भएर पाँच वर्ष पूरा भएको छ । आज प्रदेश र प्रतिनिधिसभाको कार्यकाल समाप्त हुँदैछ ।’ उनले भने, ‘संविधान कार्यान्वयनका लागि संघीय तह, प्रदेश तह र स्थानीय तहहरुलाई संयोजित ढंगले कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा नयाँ अभ्यास सफलतापूर्वक अगाडि बढाएका छौं ।’

उनले विभिन्न तहका व्यक्तिगत स्वार्थलाई समेत पराजित गरेको उल्लेख गरे । पूर्वप्रधानमन्त्री ओलीले भने,‘नेपालमा साम्प्रदायिक विद्वेष भड्काउने खोज्ने प्रयासहरु भए, नेपाललाई द्वन्द्वमा फसाउने र नेपाललाई लोकतान्त्रिक बाटोमा जान नदिनेलगायतका कुचेष्टा भए, तर ति सबै कुचेष्टालाई पराजित गरेको हामीले देशलाई लोकतन्त्रको बाटोमा हिँडाएको छौं ।’

देश संविधानसम्मत चल्नुपर्ने उल्लेख गर्दै उनले अगाडि भने, ‘यतिबेला देशलाई हार्न दिन हुँदैन, जनतालाई हार्न दिन हुँदैन । संविधानलाई हार्न दिन हुँदैन । संविधान दिवस र राष्ट्रियता दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाइरहेका छौँ ।’ त्यस्तै संविधान दिवसलाई जनताको दिवसका रूपमा र राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने उनको भनाइ थियो ।