Sat Oct 1 2022
मुख्य खबर

चाडपर्व लक्षित सुपथ पसल आजदेखी सुरु

अविशेक सुनार- सरकारले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित सुपथ मूल्य पसल आजबाट सञ्चालनमा ल्याएको छ । सरकारले सुपथ मूल्य पसल देशभरका ४१ वटा जिल्लाको ४५ स्थानमा सञ्चालनमा आएको हो ।

कार्तिक १५ गते सम्म सञ्चालनमा रहने सुपथ पसलमा प्रतिकिलोमा ७ देखी १० रुपैयाँ सम्म छुटको व्यवस्था गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

नजिकिएको दशै तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिवारबाट देशको ४१ वटा जिल्लाको ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) मार्फत समेत सेवा दिईने सुपथ मुल्य पसल काठमाण्डौ उपत्यकामा कम्पनीका शाखा रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खुमा सहुलियत उपलब्ध हुनेछन् ।

सुपथ मूल्य पसलले मासु, गेडागुडी र कर्णालीको सिमीको प्रतिकिलोको विद्यमान मूल्यमा १० रुपैयाँ छुटको व्यवस्था गरेको छ । त्यस्तै खाद्यान्न, तेल, चिनी तथा तरकारी लगायतमा गतवर्ष प्रतिकिलोमा ५ रुपैयाँ छुट दिईएकोमा यो वर्ष भने प्रतिकिलोमा ७ रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै सुपथ मूल्य पसलको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले सुपथ पसलबाट आम जनताहरु लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन् ।

उनले विगतको भन्दा खाद्य वस्तुको सङख्या र छुट मूल्य बढाएर बजारमा ल्याईएको हुँदा सबैले उपभोग्य गर्नुपर्ने विश्वास व्यक्त गरे । साथै दशै तिहारको समयमा हुने कालाबजारी नियन्त्रणका निमित्त सरकारी तहबाट जनशक्ति बढाएर बजार अनुगमनमा थप पहल गरिएको मन्त्री बडुको भनाई छ ।

साथै अनलाईन मार्फत पनि उपभोक्ताले माग अनुसारको वस्तु प्राप्त गर्न सक्ने व्यवस्था समेत गरिएको छ । साल्ट ट्रेडिङले काठमाण्डौ उपत्यकाभित्र सतुङ्गल, कालीमाटी, जावलाखेल, जडीबुटी र भक्तपुरबाट छुट दिनेछ ।

त्यस्तै दुग्ध विकास संस्थानले घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिएको छ । कम्पनीले दशैँका लागि झण्डै तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी पनि गरेको छ भने सुपथ मूल्य पसल कार्तिक १५ गतेसम्म सञ्चालित रहने छ ।