Sun Sep 25 2022
मुख्य खबर

प्रतिनिधि सभाको अन्तिम बैठकमा ३ शीर्ष नेताहरुबीच घोचपेच

प्रतिनिधि सभाको अन्तिम बैठकमा आज नेपालका ३ जना शिर्ष नेताहरुले एउटै मञ्चको प्रयोग गर्न पाउँदा निकै घोचपेच चल्यो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको रोचक घोचपेचका बावजुद तिनै जना नेताले संसद यो कार्यकाल सफल भएको दाबी गरे ।

 संसद पुर्नस्थापना परमादेश सरकार, प्रतिगमन र अग्रगमन शब्दको प्रयोग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई सहि र जनताका लागि गम्भिर रहेको भन्न भने छाडेनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद पुर्नस्थापना गरेर न्याय गरेको तर्क गरे । प्रतिपक्षी दलका नेता ओलीतर्फ इंकित गर्दै देउवाले सरकार मात्रै होइन संसद पनि परमादेशबाट आएकालेसँगै काम गर्न पाइएको उल्लेख गरे ।

वर्तमान गठबन्धन सरकारले नागरिकता लगायतका धेरै विधेयक पारित गर्न सफल भएको देउवाले दाबी गरे । उनले आगामी निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुने विश्वास दिलाए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ पटकको संसद विघटन गर्ने निर्णयको बचाउ गर्दै परमादेशबाट प्रतिनिधिसभा पुनस्थापनालाई असंवैधानिक संज्ञा दिए । आफ्नो सरकारले गत वर्ष वैशाख १७ र २७ गते चुनाव घोषणा गर्नु प्रतिगमन नभएको भन्दै निर्वाचनमा जानुलाई प्रतिगमन नभनिने तर परमादेशबाट असंवैधानिक तरिकाले सरकार गठन गरिनुचाहिँ प्रतिगमन भएको ओलीले तर्क गरे ।

छुट्टिने बेलामा कठोर बोली बोल्नु उपयुक्त नहुने भन्दै ओलीले संसदको कार्यकाल सफल भएको टिप्पणी गर्दै नागरिकता विधेयकलाई सत्तारुढ दलहरुले राजनीतिक फाईदाको विषय मात्रै बनाएको भन्दै आक्रोश पोखे ।

संसद विघटन गर्ने ओलीलाई संसद पुर्नस्थापनाको निर्णयलाई परमादेश भनेर टिप्पणी गर्ने अधिकार नभएको दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले देशलाई संवैधानिक दुर्घटनाबाट बचाउन र लोकतन्त्र, राष्ट्रको रक्षा गठबन्धन गरिएको तर्क गरे । प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातबाट सकिँदै छ ।