Sat Oct 1 2022
मुख्य खबर

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास

दार्चुला — त्रिदेशीय सीमा जोडिएको दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । सोमबार महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने पुलको संयुक्त रूपमा शिलान्यास गरिएको हो ।

एक कार्यक्रमका बीच नेपालतर्फ नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

भारतीय पक्षले निर्माण गर्ने एक सय १० मिटर लम्बाईको उक्त मोटरेबल पुलको शिलान्याससँगै त्रिदेशीय सीमा जोडिएको क्षेत्रमा अन्तरदेशीय पुल निर्माणले व्यापारिक मार्गमा जोडिने विश्वास गरिएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले दार्चुला अब अन्तरदेशीय व्यापारको हब बन्ने विश्वास व्यक्त गरे । उनले सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक नाकाको रुपमा लिनुपर्ने बताए ।

यो पुलबाट चीनसँगको ताँलाकोट नाका १३४ किलोमिटर र तराईको बह्मदेवमण्डी २२१ किलोमिटर दूरीमा पर्छ । पुल निर्माणले नेपाल–भारतको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । व्यापारिकसँगै नेपाल भारतका नागरिकबीच सामाजिक सम्बन्ध जोड्न यो पुल सजिलो हुने स्थानीयको बुझाइ रहेको छ ।