Sat Sep 24 2022
देश

आरजु राणा कांग्रेसबाट समानुपातिक उम्मेदवार

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा अन्ततः प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बन्ने भएकी छन् ।

कैलाली ५ सहित देशका विभिन्न ५ ठाउँबाट प्रत्यक्ष उम्मेदवारमा सिफारिस भएकी उनी सुरक्षित स्थान खोज्दै समानुपातिकमा बस्न लागेकी हुन् । २०७४ को चुनावमा लडेको कैलाली ५ मा योपटक पनि उम्मेदवार हुने तयारी गरेकी उनले त्यहाँ आफूलाई सुरक्षित नदेखेपछि समानुपातिकमा गएको कांग्रेसमा चर्चा छ । कैलाली ५ मा पुष्कर ओझा समूहले अन्तरघात गर्न सक्ने कांग्रेसमा चर्चा चलेको थियो ।

बालुवाटार जारी पदाधिकारी, पूर्व पदाधिकारीसहित संसदीय समितिको बैठकले समानुपातिक सूची तयार गरिरहेको छ ।

त्यस्तै सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिकमा उठाइने एक पदाधिकारीले जानकारी दिए । त्यसैगरी पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि समानुपातिकमा समेटिने भएको छ ।

विभिन्न सात समूहमा छलफल भैरहेको छ भने समानुपातिक नामावली टुंगो लगाउन केही पदाधिकारीलाई बाहिर राखेर शीर्ष नेताको छुट्टै बैठक पनि बसिरहेको छ ।