Wed Nov 30 2022
अन्तर्राष्ट्रिय

कतार मेरो अन्तिम विश्वकप : मेस्सी

काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।

ल्याटिन अमेरिकी मिडिया स्टार प्लससँग कुरा गर्दै मेस्सीले कतार आफ्नो अन्तिम विश्वकप हुने बताएका हुन् ।

कतार विश्वकप सुरु हुन दुई महिना पनि बाँकी छैन । तर प्रतियोगिता सुरु नहुँदै मेस्सीले खास खुलासा गरेका छन् । अर्जेन्टिनालाई यस विश्वकपको उपाधिको दाबेदार टिम मानिएको छ । सन् २०२१ म कोपा अमेरिका जितेपछि अर्जेन्टिना विश्वकपको उपाधि दाबेदार टिम बनेको हो । अर्जेन्टिना पछिल्ला ३५ खेलमा अपराजित समेत रहेको छ ।

मेस्सीले विश्वकपमा अर्जेन्टिनी टिमको कप्तानी समेत गर्नेछन् । उनले कतारमा हुने विश्वकप फुटबल आफ्नालागि अन्तिम हुने घोषणा गरेका हुन् । मेस्सीले विश्वकप जित्ने आफ्नो चाहानालाई समेत खुलस्त रुपमा बताएका छन् ।

‘म विश्वकपसम्मको दिन गनिरहेको छु । साँचो कुरा यही हो । थोरै चिन्तापनि छ, हामी खेल्नका लागि प्रतिक्षा गर्न सक्दैनौं । दोस्रो कुरा प्रतियोगिता अघि एउटा निश्चित तनाव समेत छ ।’

उनले कतारमा विश्वकप जित्ने आफ्नो टिमको सम्भावनाको विषयमा समेत बोलेका छन् ।

‘जसरी चिज बदलिएको छ । त्यसको कारण हामी निकै राम्रो क्षणमा छौं । एउटा निकै बलियो समुहसँग छौं । तर विश्वकपमा जे पनि हुन सक्छ । सबै खेल कठिन हुन्छ । त्यसैले एक विश्वकप यति धेरै खास हुन्छ, किनकी दाबेदार सबै जित वा अपेक्षा अनुसारको प्रर्दशन गर्न सक्दैन । अर्जेन्टिना सधै आफ्नो इतिहासका कारण एउटा दाबेदार टिम हो ।’

सन् २०१४ मा मेस्सी विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता जित्ने सम्भावनाको निकै नजिक पुगेका थिए ।

पीएसजीका फरवार्डले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका थिए । तर अन्तिम फाइनल खेलमा अर्जेन्टिनाले जर्मनीसँग हार ब्यहोरेको थियो ।