Mon Nov 28 2022
देश

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

काठमाडौं । कालिकोटमा मलामी गएका १३ जना बेपत्ता भएका छन्। आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका १३ जना बेपत्ता भएका हुन् ।

स्थानीय हेमराज शाहीको शव घाटमा लिएर गएका मलामीहरू बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।

उनले भने,’१३ जना बेपत्ता भएका छन् । जाेखिम क्षेत्रमा जनप्रतिनिधिसहित प्रहरी पुगेको छ । अहिले अन्य स्थानीयको उद्दार भइरहेको छ ।’ पहिराेकाे समयमा पुगेकाले उनीहरू तिला नदीमा खसेकाे प्रहरी अनुमान छ ।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १३ जना मलामी बेपत्ता तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार १५ जनामध्ये दुई जना सम्पर्कमा आएका र १३ जना अझै सम्पर्कविहीन छन् ।

कालिकोटमा केहीदिनदेखि पानी परेको र सँगै ठाउँठाउँमा पहिरो खसेकाले सोही पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ । उनीहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको छ।

मलामी जाँदा माथिबाट पहिरो खस्दा उनीहरु बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ ।