Mon Nov 28 2022
मुख्य खबर

पूर्व सूचना प्रणालीको द्रुततर विकासमा सरकार लागिपरेको छः गृह सचिव 

पूर्व सूचना प्रणालीको विकास र व्यवस्थापन हुन नसक्दा जनधनको क्षति धेरै हुन्छ । नेपालमा बर्षेनी हुने प्राकृतिक प्रकोपजन्य घटनामा पनि पूर्व सूचना प्रणालीको अभावमा धेरै मात्रामा जनधनको क्षति हुँदै आएको छ ।

यही विषयलाई मनन गर्दै पूर्व सूचना प्रणालीको द्रुततर विकास गर्न सरकार लागिपरेको गृहमन्त्रालयले बताएको छ ।

बिहीवार अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवसको अवसरमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले पूर्व सूचना प्रणालीको अभावमा वर्षेनी विपद्जन्य जोखिमका समस्या बढ्दै गएको बताएका छन ।

उनले नेपालमा बाढीका लागि मात्रै पूर्व सूचना प्रणाली प्रभावकारी भएको पाइएपनि अन्य क्षेत्रमा पूर्व सूचना प्रणालीको व्यवस्थापन र कार्यान्वयन फितलो रहेको बताए ।

सचिव सिंहले बाढीबाट हुने मानवीय क्षति कम भएपनि धनको क्षति भने अझै कम गर्न नसकेको बताए । उनले डढेलो, चट्याङ, हावाहुरी जस्ता विपदजन्य घटनाका लागि अझैपनि पूर्व सूचना प्रणालीको विकास हुन नसकेको बताए ।

उनले चट्याङका कारण हरेक वर्ष नेपालमा १ सय भन्दा धेरैले ज्यान गुमाउने गरेको उल्लेख गर्दै सरकारले चट्याङको पूर्व सूचना प्रणालीको विकास गर्न लागेको बताए ।

उनले सबै खालका जोखिमहरुको पूर्वानुमान हुनसक्ने र पूर्व सूचना दिनसक्ने हो भने जनधनको क्षतिमा कमी ल्याउन सकिने बताए । कतिपय स्थानमा भू–बनावटको अध्ययन नै नगरी बस्ती बसेको र कतिपय ठाउँमा नदीको किनारमा बस्ती बस्नाले विपद्का घटना बढीरहेको र व्यवस्थापनको कार्य कठिन भएको सचिव सिंहले बताए ।

गृहसचिव सिंहले सरकारको विपद् प्रतिकार्य योजनाको परिणामअनुसार यस वर्ष गत वर्षको तुलनामा बाढीबाट हुने मानवीय क्षति कम भएको बताए ।

गृहसचिव सिंहले यस वर्ष पहिरोबाट हुने क्षति भने गत वर्षको तुलनामा बढीरहेको बताए । उनले हालै पहिरो र बाढीका कारण पश्चिमका क्षेत्रहरुमा ठूलो क्षति भएको बताउँदै सरकारले खोजि, उद्धार र राहतका कार्यलाई तदारुकताका साथ अघि बढाएको बताए ।

उनले अहिले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा विपद् व्यवस्थापन कोष राखिएको र उक्त कोषबाट कुनै व्यक्तिको विपद्बाट मृत्यु भएको अवस्थामा तत्काल २ लाख रुपैयाँ र घरको क्षति भए १५ हजार रुपैयाँ तत्काल उपलब्ध गराउने व्यवस्था गरिएको उल्लेख गरे । गृहसचिव सिंहले गत १५ दिनमा मात्रै विभिन्न जिल्लाका कोषमा डेढ करोड रुपैयाँ मन्त्रालयले उपलब्ध गराएको जानकारी दिए ।

गृहसचिव सिंहले पश्चिमी क्षेत्रमा अविरल वर्षाका कारण भएको क्षतिले केही स्थानमा जमिनमा धाँजा फाट्ने र बस्तीहरु नै बगेको अवस्था रहेकाले उक्त क्षेत्रका स्थानीयको स्थायी बसोवासका लागि मन्त्रालयले काम गरिरहेको बताए ।