Wed Dec 7 2022
मुख्य खबर

विष्णुमती खोला क्षेत्रका अवैध संरचनामा भत्काउने महानगरको योजना

अविशेक सुनार- काठमाडौं महानगरपालिकाले भदौ पहिलो सातादेखि सुरु गरेको अनधिकृत संरचनामाथि डोजर चलाउने अभियान अझै जारी रहेको बताएको छ ।

सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउने, अव्यवस्थित डिजिटल होर्डिङ बोर्ड हटाउने लगायतका थुप्रै कामहरु महानगरपालिकाले गरिसकेको छ ।

अवैध संरचना भत्काउने अभियान अन्तर्गत अबको केही दिनमा विष्णुमति खोला क्षेत्रमा बनेका अनाधिकृत संरचना भत्काउने महानगरको योजना छ ।
काठमाडौं महानगरपालिकाले भदौ पहिलो सातादेखी थालेको सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउने अभियान जारी राखेको छ ।

महानगरले सुन्धारास्थित काठमाडौं मल अगाडि नक्सा पास विपरित बनाईएका अनधिकृत संरचना भत्काएर अभियान हो । आरबी कम्प्लेक्सका करिब १४ साना पसल र बानेश्वरकै अल्फाबिटामा निर्माण विपरीत प्रयोग भएका संरचना महानगरले भत्कायो ।

त्यस्तै वीर अस्पताल परिसरमा रहेको ११ वटा अवैध टहरा, माछापोखरी नापतौल अगाडी र महादेव खोला किनारमा रहेको ४३ वटा अवैध टहरा हटाईएको छ ।

त्यस्तै सोह्रखुट्टे देखी म्हैपी जाने स्थानहरुको राजकुलो मिचि बनाईएको ७ वटा टहरा, आर.वि. कम्प्लेक्सको संरचना, जडिबुटीको ८ वटा टहरा, नयाँबजारको जुडो हल वरिपरिका ६ वटा अवैध टहरा, पशुपति परिसरको ३५ अवैध संरचना, थापागाउँ क्षेत्रको ४ वटा अवैध संरचना महानगरले भत्काईसकेको छ ।

त्यस्तै बसुन्धारा चोकबाट सिर्जनसिल मार्गसम्म बाटो खोल्नका निम्ति करिब एक सय घरको कम्पाउण्ड भत्काएको छ । पार्कीङ स्थलमा व्यवसाय सञ्चालन गरेको पाईएपछि महानगरले बानेश्वर क्षेत्रको अन्डरग्राउण्ड पार्कीङ समेत खाली गराएको छ । त्यस्तै सुरज आर्केडको भूमिगत पसलहरु खाली गराउने तथा पार्कीङका लागि छुटाईएको स्थानबाट व्यापार व्यवसाय हटाईएको छ ।

काठमाडौं महानगरपालिकाभित्र रहेका सम्पूर्ण अवैध संरचना हटाएर जुन प्रयोजनका लागि नक्सा पास गरिएको छ त्यसैमा लगाउने महानगरपालिकाले बताएको छ । सुन्दर र सपनाको महानगर निर्माण गर्नका निमित्त निरन्तर लागिरहेको महानगरपालिको भनाई छ ।

अबको केही दिनमा सामाखुसी क्षेत्रमा बग्ने विष्णुमति खोलामा बनेका सम्पूर्ण अवैध संरचना भत्काउने महानगरपालिकाको योजना छ । उपत्यकाको खोला किनारबाट अधिकतम २० मिटरदेखि न्यूनतम ४ मिटर दुरीमा मात्रै घर बनाउन सकिने व्यवस्था छ ।

विष्णुमति खोला किनारमा भने न्यूनतम ४ मिटर दुरी पनि नछोडी सार्वजनिक जग्गा मिचेर संरचना बनाएको पाईएको हुँदा त्यस्ता संरचना हटाईने छ ।

महानगरले ८ सय स्क्वायर फिट भन्दा बढी क्षेत्रफलमा राखिएका डिजिटल होडिङ बोर्ड बन्द गराउने अभियान सञ्चालन गरेसँगै उपत्यकाका धेरै होर्डिङ बोर्ड अहिले बन्द भएका छन् ।