Mon Nov 28 2022
आर्थिक

साताको सेयर : परिसूचक १७ अंकले बढ्यो, कारोबार रकममा सुधार

यो साता नेपाल स्टक एक्सचेञ्ज नेप्से १७ अंकले बढेर बन्द भएको छ ।
गतसाता १८ सय ५३ अंकमा बन्द भएको नेप्से यो साता ० दशमलव ९१ प्रतिशतले बढेर १८ सय ७० अंकमा पुगेर बन्द भएको हो ।

नेप्से बढेसँगै बजार पूँजीकरण समेत बढेर २६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । यो साता ५ दिन नेप्से कारोबार भएको थियो । जसमध्ये आइतबार ८३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । यस्तै, सोमबार ९७ करोड रुपैयाँको सेयर किनबेच हुँदा मंगलबार ५५ करोड र बुधबार ६९ करोडको तथा विहीबार ८२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

५ कारोबार दिनमध्ये सोमबार र मंगलबार भने बजार ओरालो लागेको थियो । लगानीकर्ताले नाफा बुक गर्दा ती दुई कारोबार दिनमा भने सेयर बजार ओरालो लागेको हो ।

यसबाहेक अन्य ३ कारोबार दिनमा नेप्से परिसूचक उच्च अंकले बढेको थियो । यो साता व्यापार समूह बाहेक सबै समूह बढेका छन् । यो समूहमा ० दशमलव २६ अंकको गिरावट आएको छ । यसबाहेक, वित्त समूहमा ४ दशमलव ९६ प्रतिशतको सुधार आएको छ ।

यस्तै, विकास बैंक समूहमा ३ दशमलव ५५ प्रतिशत र लघुवित्त समूहमा १ दशमलव ०३ प्रतिशत सुधार आएको छ । यसैगरी, यो साता अभियान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । साताभरमा यो कम्पनीको सेयर मूल्य ५२दशमलव २५ प्रतिशतले बढेको छ ।