Mon Nov 28 2022
कर्णाली प्रदेश

नवौं राष्ट्रिय : एथलेटिक्सको पुरुष स्टिपल चेजमा कर्णालीका बुढालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष ३००० मिटर स्टिपल चेजमा कर्णालीका दुर्गाबहादुर बुढाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा निर्धारित दुरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै दुर्गाले स्वर्ण जितेका हुन् ।

उनले राजेन्द्र भण्डारीको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेका हुन् । कर्णालीका लागि यो पहिलो स्वर्ण हो ।

तर, दुर्गाविरुद्ध तीन विभाग सहित चार टिमले प्रोटेस्ट दर्ता गराएका थिए ।

बुढाले छिमेकी देश भारतबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै चार टिम त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ क्लब र गण्डकी प्रदेशले सहभागीता खारेजीको माग गर्दै प्रोटेस्ट दर्ता गराएका थिए ।

तर, राष्ट्रिय खेलकुद निर्देशिकामा विदेशमा खेलेका खेलाडीलाई खेल्न नदिने भन्ने उल्लेख नगरिएको हुँदा उनलाई खेल्न बन्चित नगरिएको राखेपले जनाएको छ ।

एपीएफ अजित यादबले रजत जित्दा आर्मीका सुबास कार्कीले कास्य पदक हात पारे ।

अजितले ९ मिनेट २१.१० सेकेन्डको समय निकाले । सुबासले ९ मिनेट २२.१५ सेकेन्डको समय निकाले ।