Wed Dec 7 2022
अन्तर्राष्ट्रिय

रुसी सैनिक फर्किएपछि खेअरसनमा युक्रेनी झन्डा फहराइयो

रुसी सैनिकहरू फिर्ता भएपछि लामो समय रुसको कब्जामा रहेको खेअर्सन सहरमा पुनः युक्रेनी झण्डा फहराइएको छ ।
सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा युरोपेली संघको झन्डा पनि देखिएको बीबीसीले पुष्टि गरेको छ । युक्रेनको रक्षा मन्त्रालयले आफ्नो फौज त्यहाँ जाँदै गरेको र खेअर्सन सहर आफ्नो पकडमा आइसकेको जनाएको छ ।

युक्रेनीहरु आफ्नो झण्डासहित सडकमा सहज तरिकाले आएका छन । जनजीवन सामान्य बन्दै गएको छ । यसअघि रुसले खेअर्सनबाट आफ्ना सैनिकहरू फिर्ता हुने क्रम सकिएको जनाएको थियो ।

मस्कोमा रहेको रक्षा मन्त्रालयले पनि आफ्ना सबै सैनिकहरु डिनिपो नदी पार गरेर फर्किसकेको जनाएको छ । उसले कुनै पनि सैनिक अस्त्रहरू युक्रेनी भूभागमा नछोडिएको बताएको छ ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको थियो । यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले दर्जनौँ सहर र गाउँहरूमा फेरि पकड कायम गरेको बताएका छन ।

युक्रेनी विदेशमन्त्री दिमित्रो कुबेलाले रुसी सैनिकहरूको फिर्तीलाई युक्रेनको जितको रूपमा अथ्र्याएका छन ।