Wed Dec 7 2022
मुख्य खबर

सवारी चालक अनुमतिपत्र छपाईमा ढिलाइ, सेवाग्राहीलाई सास्ती

यशोदा भण्डारी-
यातायात व्यवस्था विभागमा सवारी चालक अनुमति पत्र छपाईमा ढिलाई हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । अहिले विभागमा एउटा मात्र छपाई मेसिन छ ।

विभागले माग अनुसारको उत्पादन र वितरण गर्न नसक्दा लाईसेन्स छपाईमा ढिलाई भएको हो । जसका कारण ट्रायल पास गरेका सेवाग्राहीहरुले नयाँ लाईसेन्स प्राप्त गर्न एक वर्ष भन्दा बढि कुर्न पर्ने बाध्यकारी अवस्था छ ।

नेपालको यातायात क्षेत्रलाई व्यवस्थापन र सहजीकरण गर्न स्थापना भएको यातायात व्यवस्थापन विभाग भित्रै काममा भएको ढिलासुस्तिले गर्दा अहिले लाखौंले स्मार्ट लाईसेन्स पाएका छैनन् ।

ट्रायल पास गरेपछि सेवाग्राहीले प्राप्त गर्ने स्मार्ट लाईसेन्स नपाउँदा सेवाग्राहीहरुले राजश्व तिरेको रसिद देखाउदै हिड्नु परेको छ ।

अहिले यातायात व्यवस्था विभागमा जम्मा एउटा मात्र मास प्रिन्टर अर्थात् छपाई मेसिन छ । मेसिनले अहिले दैनिक ४ हजारसम्म मात्र कार्ड छाप्दै आएको छ तर दैनिक ७ हजारभन्दा बढि माग आउने गरेको छ ।

यस अनुसार विभागमा झन्डै दोब्बर कार्ड छाप्न माग आउँछ तर माग पूरा गर्न विभाग असफल देखिन्छ । विभागले समयमै लाईसेन्स वितरण गर्न नसक्दा लाखौंले स्मार्ट लाईसेन्स प्राप्त गर्न सकेका छैनन् ।

विभागले स्मार्ट लाईसेन्स छपाईमा भएको ढिलाई र सेवाग्राहीले लाईसेन्स लिन वर्ष दिन कुर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अर्को विकल्प नल्याएको भने होईन ।

विभागले सवारी चालकले ट्रायल पास गरे लगत्तै एक वर्षका लागि अस्थायी रुपमा परीक्षणकालिन सवारी चालक अनुमति पत्र दिने व्यवस्था गरेको थियो । विभागले यो व्यवस्था लागु त ग-यो तर अझैपनि कतिपय यातायात कार्यलयहरुले परीक्षणकालिन कार्ड दिएका छैनन् । यस विषयमा यातायात व्यवस्था विभागले कुनै पहल गरेको छैन ।

सेवाग्राहीहरु यातायात व्यवस्था विभागको सुविधाप्रति सन्तुष्ट छैनन् । देशभरको लाईसेन्स केन्द्रबाट त्यसमाथि एउटै मात्र मेसिनको प्रयोग हुने अवस्थादेखि उनीहरु आजित छन् ।

प्रत्येक यातायात कार्यालयमा स्मार्ट लाईसेन्स छपाई गर्ने प्रावधान भए सहज हुने सेवाग्राहीको बुझाई छ ।

यातायात व्यवस्था विभागले वैदेशिक रोजगारका लागि विदेशिनु पर्ने सेवाग्राहीको हकमा भने आपतकालिन सवारी चालक अनुमति परिचय पत्र बनाईदिने व्यवस्था गरेको छ । यस्तै, सुविधा अन्य आम नागरीकलाई पनि हुन सके सवारी चालकले अनावश्यक झन्झट बेर्होनुपर्ने अवस्था हुने थिएन ।